संसदमा बोल्नका लागि दिने समयमा पुनर्विचार गर्नुपर्नेमा सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरु संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उहाँले ठूला दलका नेताहरुको संसदमा राजा जस्तै गरेर आउने कुराले संसदको गरिमा बचाउने अवस्था नरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ठूला पार्टीहरुलाई राजा जस्तै आउने, राजाजस्तै जाने नै हो भने चाँही यो संसदको गरिमा त्यतिसाह्रो रहन्छ जस्तो चाँही हामीलाई लागेको छैन । यहाँलाई लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास होला ।’

अध्यक्ष राउतले सांसदहरुलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न पनि सभामुख देवराज घिमिरेको गम्भिर ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधानको भावना अनुसार संसदको नियमावलीमा संशोधन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

उहाँले भन्नुभयो,‘संसदमा सांसदहरुलाई बोल्नका लागि समय दिने विषयमा पुनर्विचार गर्नुपर्दछ भन्ने हामीलाई लाग्दछ । त्यसै संसद संचालन नियमावलीमा मन्त्रीहरुको उपस्थिति हुनुपर्ने देखिन्छ। तर साना–साना पार्टीहरुलाई मात्रै लाग्ने हो कि सबै पार्टीहरुलाई लाई लाग्ने हो?’

Back to top button