विराटनगर बाहिरका उद्योग र ठूला ब्राण्डपनि सीएनआई एक्स्पोमा सहभागी हुने

विराटनगर । माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोसी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठूला ब्राण्डहरु आफ्नो उत्पादनको प्रवर्धनका लागि सहभागी हुने भएका छन् ।

एक्स्पोमा सहभागिताका लागि नयाँ उद्योग र कम्पनिहरुलाई प्रोत्साहित गरिएका कारण उनीहरु आफ्नो उत्पादनसहित सहभागी हुने भएका हुन् ।

सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले विराटनगरका वीरगञ्ज, भैरहवा, नवलपरासी, काठमाडौंलगायतका प्रमुख औधोगिक क्षेत्रका उद्योगहरुले एक्स्पोमा सहभागीताको सुनिश्चितता गरेको जानकारी दिनुभयो ।

विराटनगरमा यसअघि लाग्दै आएका एक्स्पोहरुमा अहिलेसम्म सहभागिता जनाएको चौधरी ग्रुप, यामाहा, सूर्य पेन्टस्, रुस्लान, न्यूट्री प्लस फुडलगायतका औद्योगिक उत्पादनले सहभागीता जनाउने भएका हुन् ।

उल्लेखित सवै औद्योगिक ब्राण्ड र उत्पादनहरु विराटनगर बाहिरका हुन् । एक्स्पोमा प्रदेश १ का प्राय सवै उद्योगहरुले सहभागीता जनाएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

लोकप्रिय कृषि उत्पादनभित्र किवीदेखि बरमझियाको पेडासम्मको प्रदर्शनी र विक्री वितरण हुने जनाइएको छ । एक्स्पोमा प्रवेशका लागि अनलाइन टिकेटिङको व्यवस्था मिलाइएको पनि जनाइएको छ ।

गेटमा टिकट काट्नुपर्ने परम्परागत कार्यको अन्त्य गर्न अनलाइन टिकेटिङ प्रभावकारी हुने एक्स्पो सचिवालयले जनाएको छ । विराटनगर–२ शंकरपुरमा एक्स्पो स्थल निर्माणको तयारी तीब्र पारिएको छ ।

स्टल बुकिङ अधिकांश भइसकेको जनाइएको छ । सीएनआईले एक्स्पोलाई ऐतिहाँसिक बनाउने घोषणा यसअघि नै गरिसकेको छ ।

Back to top button