प्रेम आचार्य जी,आशा जगाउन र तपाईलाई बचाउन सकेनौं,हामी दोषी छौं : गृहमन्त्री लामिछाने

कामाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यलाई बचाउन नसकेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । गृहमन्त्री लामिछानेले हिजोदेखिको निराशा र पीडा नै आत्मदाहको मुख्य कारण भएको बताउनुभएको हो ।

आज सामाजिक सञ्जाल फेसबुकमा उहाँले यस्तो स्टाट्स लेख्नुभएको छ,‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ,आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो।

दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन,आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं,म दोषी छु। प्रेम आचार्य जी,नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं,हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।’

हिजो बेलुका संसद भवन अगाडि आचार्यले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्नुभएको थियो। घाइते उहाँको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो।

Back to top button