
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको टिप्पणी गर्नुभएको छ ।
नेता कोइरालाले आत्मदाह र त्यसपछाडि उत्पन्न परिस्थितिबारे बहस गर्न आवश्यक रहेको औंल्याउनुभएको छ । आज सामाजिक सञ्जालामा स्टाटस लेख्दै नेता कोइरालले आत्मदाहको परिस्थित दोहोरिन नदिने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘प्रेमप्रसाद आचार्यले संघीय संसद भवन अगाडि हिजो दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ। हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थित दोहोरिन नदिने वातावरणको सृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने? ’, उहाँले लेख्नुभएको छ ।
हिजो अपरान्ह इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्नुभएको थियो। गम्भीर घाइते हुनुभएका आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ।