उत्तरकोरियाको राजधानी प्योङ्याङमा आजदेखि लकडाउन

उत्तरकोरियामा श्वासप्रश्वासका बिरामी बढेपछि प्योङ्याङमा ५ दिनका लागि लकडाउन आदेश जारी गरिएको छ । गत अगष्टमा कोरोनामाथि विजय प्राप्त गरेको घोषणा गरेको उत्तरकोरियाले आजदेखि लागू हुने गरी राजधानीभर बन्दाबन्दीको आदेश जारी गरेको हो ।

प्योङ्याङका बासिन्दालाई आजदेखि आगामी आइतबारसम्म घरभित्रै बस्न तथा हरेक दिन शरीरको तापक्रम जाँच गर्न आदेश दिइएको उत्तर कोरियाली सरकारले जारी गरेको छ ।

राजधानीमा फैलिएको रोगलाई कोभिड–१९ नभनी त्यसलाई रुघाखोकीका रूपमा चित्रण गरिएको छ । राजधानीमा बन्दाबन्दीको आदेश जारी हुने अनुमान गर्दै नगरबासीले दैनिक आवश्यकताका वस्तु भण्डारण गरेको भोलिपल्ट सरकारी आदेश जारी भएको हो ।

राजधानी प्योङ्याङमा मात्र लकडाउन गरिएको हो वा देशका अन्य शहरमा पनि त्यो लागू गरिएको हो भन्नेबारेमा स्पष्ट गरिएको छैन । राज्य नियन्त्रित सञ्चारमाध्यमले पनि यससम्बन्धमा केही उल्लेख गरेका छैनन् ।

Back to top button