अब्बल विद्यार्थी बनाउनका लागि विद्यालयमा अभिभावकको निगरानी आवश्यक : पूर्वगृहमन्त्री खड्का

विरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक,अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताउनुभएको छ ।

आज गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९ ओैं वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उपसभापति खड्काले प्रतिष्पर्धी जनशक्ति उत्पादनका लागि ३ पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

‘अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ,अभिभावकले त्यसको वातावरण तयार गरिदिनुपर्छ,विद्यार्थीले मन लगाएर पढ्नुपर्छ,’ उहाँले भन्नुभयो,‘यी ३ पक्षको समन्वय र सहकार्य हुन सक्यो भने मात्रै गुणस्तरीय र अब्बल विद्यार्थी उत्पादन गर्न सकिन्छ ।’

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका खड्काले विद्यालयमा अभिभावकको निगरानी आवश्यक रहेको बताउनुभयो । ‘आफ्ना नानी–बाबुहरूलाई विद्यालय पठाएर मात्रै अभिभावकहरूको दायित्व पूरा हुँदैन्,’उहाँले भन्नुभयो,‘उनीहरूले कस्तो शिक्षा पाइरहेका छन्,पढाइको गुणस्तर कस्तो छ भन्ने कुराको जानकारी पनि राख्न जरूरी छ ।’

उपसभापति खड्काले विद्यार्थीलाई कितावी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र जीवन जिउने कला सिकाउनु आवश्यक रहेको बताउनुभयो । ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र अनुशासन,चरित्र र जीवनपद्दति सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ,’उहाँले भन्नुभयो,‘अनुशासन,चरित्रवान र जीवनपद्दती बुझेको विद्यार्थी अहिलेको आवश्यकता हो ।’

यस्तै, उपसभापति खड्काले निर्वाचनका क्रममा जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिवद्धता पनि दोहोर्‍याउनुभयो । ‘सरकार फेरबदल हुँदा चुनावमा गरिएका बाचाहरु पूरा हुँदैनन् कि भन्ने मतदातामा चिन्ता देखियो,’उहाँले भन्नुभयो,‘हामीले ५ वर्षका लागि जे–जे बाचा गरेका थियौं,ति सबै पूरा हुन्छन् ।’

गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले पालिकाभित्रका अभिभावक नभएका बालबालिकाको अभिभावकत्व नगरपालिकाले ग्रहण गरेको बताउनुभयो । ‘त्यस्ता बालबालिकालाई यसै विद्यालयमा आवासीय रुपमा राखेर राम्रो शिक्षाको प्रवन्ध मिलाएका छौं,’उहाँले भन्नुभयो,‘कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बन्चित नहुन भन्नेमा हामी चनाखो छौं ।’

उहाँले आवासीय विद्यालयको भौतिक पूर्वाधार सुधार र प्रविधितर्फ पालिकाले सहयोग गर्दै आइरहेको बताउनुभयो ।

Back to top button