हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताउनुभएको छ ।

श्रीपञ्चमी पर्व अर्थात सरस्वती पूजाको शुभकामना सन्देश दिँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी रहेको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा र पार्टीको आफ्नो गन्तव्य बनाएको बताउनुभयो ।

स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रम एवं ती नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यसहित एमाले अघि बढिरहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

Back to top button