कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’

कांग्रेस केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ। कांग्रेसका डा. शेखर कोइराला पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टीले लगाएको निर्णय गलत भएको ठहर गरेको छ।

कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने मत राख्नुभएको थियो। तर, तत्काल पार्टीले हृवीप लगाएपछि उनीहरू पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन बाध्य भएको जनाएका छन्।

संस्थापनइतर समूहको बैठकमा शेरबाहादुर देउवालाई पहिले आफ्नै हातमा भएको सत्ता जोगाउन नसक्ने, अहिले हातबाट फुस्किसकेपछि फेरि प्रतिपक्षको धर्म पनि निभाउन नसक्ने आरोप नेताहरूले लगाएका छन्।

Back to top button