
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बलात्कारको आरोपमा निलम्बनमा पर्नुभएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताउनुभएको छ ।
काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उहाँले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताउनुभएको हो । ‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ अध्यक्ष चन्दले भन्नुभयो, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।’
बलात्कारको आरोपमा थुनामा रहनुभएका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
थुनाबाट रिहा भएकाले उहाँलाई टिममा फर्काउनु पर्ने एकथरीको माग छ भने उनीमाथि बलात्कारको आरोप कायमै रहेकाले टिममा फर्काउन नहुने भन्ने पनि माग छ ।