एकिकृत समाजवादी निकट अनेराश्ववियूद्धारा शिक्षामन्त्रीको पुत्लादहन

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्लादहन गरेको छ।

कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयविरुद्ध अनेरास्ववियूले प्रदर्शनीमार्ग स्थित रत्नराज्य क्याम्पस अगाडि खनालको राजीनामा माग्दै पुत्लादहन गरेको हो।

शिक्षामन्त्रीले व्यापारीलाई पोसेको, गरिब विद्यार्थीमाथि अन्याय गरेको अनेरास्ववियूको आरोप छ । उनीहरूले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् ।

शिक्षामन्त्रीको पुत्ला दहनपछि सञ्चारकर्मीहरुसँग बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खान लागेको आरोप लगाउनुभयो ।

शिक्षामन्त्रीले जनक शिक्षा सामग्रीलाई बचाउनुको सट्टा मास्ने गतिविधि गरेको उहाँको आरोप छ । पराजुलीले जनक शिक्षा सामग्री केन्द्रलाई बलियो, सशक्त बनाउँदै समयमै गरिब जनताका छोराछोरीको हातमा पुस्तक पुग्नेगरि काम गर्न आग्रहसमेत गर्नुभयो ।

Back to top button