विराटनगरमा प्रेम र मोहनको श्रद्धाञ्जली सभा

विराटनगर । विराटनगरमा गत बुधबार मृत भेटिएका व्यवसायी मोहन न्यौपाने र काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यप्रति विराटनगरका व्यवसायीले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आर्थिक भार थेग्न नसकेको भन्दै सुसाइट नोट लेखेका विराटनगर महानगरपालिका–३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेको शव बुधबार घरमै फेला पर्नुभएको थियो । आचार्यले भने काठमाडौंमा आत्मदाह गर्नुभएको थियो।

उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै विराटनगरका व्यवसायीले बैंकले दिएको प्रेसरका कारण न्यौपानेले आत्महत्या गरेको दाबी गर्नुभयो । न्यौपानेले सांग्रिला बैंकबाट १ करोड ४५ लाख रुपैयाँ ऋण लिनुभएको थियो ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरले राज्य र पद्धतीको सुधारका निम्ति २ व्यक्तिले ज्यान दिएको बताउनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले इलामका प्रेमप्रसाद आचार्य र विराटनगरका मोहन न्यौपानेको आत्महत्या राज्यको कमजोरीका कारण भएको बताउनुभयो ।

सो कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले राज्य छ भन्ने अनुभूति राज्यले दिलाउनु पर्ने बताउनुभयो ।

Back to top button