राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेसहित राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय भएको बताउनुभयो।

‘बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ। यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो,’ उहाँले भन्नुभयो।

सरकार गठन गर्ने बेला गत १० पुषमा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। कांग्रेसबाट विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिमा जोड दिएको माओवादीले एमालेलाई धोका दिएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले भन्नुभयो,‘एमालेलाई धोका दिएको होइन। हामीले एमाले बिनाको राष्ट्रिय सहमति भनेकै छैन। एमालेसहित राष्ट्रिय सहमति गर्ने भनेका हौं।’

उहाँले राष्ट्रपतिको निर्वाचन माघ २६ देखि २८ को बीचमा हुने बताउनुभयो। उहाँले आजको बैठकमा ३ जनाले विभागीय प्रतिवेदन प्रस्तुत गरेको बताउनुभयो।

बैठकमा उपाध्यक्ष महरा, उपमहासचिवद्वय जनार्दन शर्मा र गिरिराजमणि पोखरेलले प्रतिवेदन पेस गर्नुभएको थियो। हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि २७ जनाले धारणा राखेका थिए।

Back to top button