नेपाल प्रहरीद्धारा नर्सिङ कलेज सञ्चालनमा

काठमाडौं । नेपाल प्रहरीले ‘नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज’ नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ । महाराजगञ्जमा गत बिहीबार अध्यापन सुरु गरिएको नर्सिङ कलेज नेपाल प्रहरीले आफ्नो कल्याणकारी कोषबाट सुरु गरेको जनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालनका लागि नर्सिङ कलेजलाई ४० वटा कोटा दिएको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

प्रवक्ता पोख्रेलको भनाइ अनुसार यो शैक्षिक सत्रको सीटीइभीटी सम्बन्धन प्राप्त कलेजहरुमा भर्नाको लागि मेरिट लिस्टमा परेका विद्यार्थीहरुलाई सीटीईभीटीको अनुमति लिएर विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरेको छ ।

कलेजनमा खुला प्रतिस्पर्धाबाट सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूले अध्ययन गर्न पाउनेछन् । नेपाल प्रहरी अस्पताल परिसरमा कलेज शुरु गरेको हो । प्रवक्ताको भनाइ अनुसार अस्पताल ३ सय बेड क्षमतमाको रहेको छ ।

आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततीहरूमध्ये जेहेन्दार १ जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततीहरू १–१ जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित दिने गरी कार्यविधि निर्माण गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

‘समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज सञ्चालन ल्याईएको हो,’ प्रवक्ता पोख्रेलले भन्नुभयो ।

कलेजको लागि आवश्यक केही अध्यापक बाहिरबाट र अधिकांश प्रहरी भित्रबाटै रहेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजाने गरी शुरु गरेको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो ।

यसका साथै नेपाल प्रहरीले जेष्ठ प्रहरी अतिथि गृह भवन पनि सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी कल्याण कोषको आन्तरिक श्रोतबाट निर्मित जेष्ठ अतिथि गृह भवन कुल २ करोड ८३ लाख ९२ हजारमा निर्माण भएको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो । उक्त तीन तले नवनिर्मित भवनमा १८ जना बस्न सक्ने क्षमता रहेको छ ।

Back to top button