स्थायी कमिटी बैठक स्थगित गरी माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बोलाइएको छ। राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयमा छलफल गर्न स्थायी कमिटी बैठक स्थगित गरेर आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाइएको हो।

सचिव गणेश साहका अनुसार केहिबेरमा पार्टी कार्यालय पेरिसडाँडा बैठक बस्नेछ। उहाँले भन्नुभयो,‘आजको बैठक यस अगाडि स्थायी कमिटी बैठकमा शुक्रबार पेश गरिएको पार्टी एकतासम्बन्धी प्रतिवेदन, राष्ट्रपति निर्वाचन र पार्टी स्कूलिङ विभागको प्रतिवेदनमाथि छलफल हुन्छ।’

माओवादी केन्द्रका अधिकांश नेताहरूले साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि ‘दबाब’ पनि बढाएका हुन्।

साहले पार्टीको आन्तरिक जीवनबारे विशेष एजेण्डा बनाएर पदाधिकारी बैठकमा छलफल हुने जानकारी दिनुभयो। सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड स्वयम्ले लिनुभएको छ । गृह मन्त्रालयको विषय सत्ता साझेदार दलसँग छलफल गरेर टुंग्याइने सचिव साहले जानकारी दिनुभयो।

रास्वपाको हिजो बसेको केन्द्रीय समिति बैठकले विगतमा सत्ता साझेदार दलसँग भएको सहमति अनुसार गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ। पार्टीका सभापति रवि लामिछाने गैर नागरिक भएको सर्वोच्चको फैसलाले संसद, उपप्रधान तथा गृहमन्त्री पद र पार्टीको सभापति पद गुमेपछि हिजो नागरिकता लिएसँगै पार्टी सभापति चयन हुनुभएको छ ।

उहाँ सभापति भए लगत्तै बसेको पार्टी केन्द्रीय समितिको बैठकले विगतमा सत्ता साझेदार दलसँग भएको समझदारी अनुसार गृहमन्त्रालय पार्टीले छोड्न नसक्ने निस्कर्ष निकालेको छ। यस विषयमा सत्ता साझेदार दलसँग छलफल गर्ने जिम्मेवारी पनि सभापति लामिछानेले नै लिनुभएको छ ।

Back to top button