७ केन्द्रिय सदस्यबिना नै क्यानको बोर्ड बैठक सुरु

काठमाडौं । ७ जना केन्द्रीय सदस्यबिना नै नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक सुरु भएको छ ।

लेकसाइडस्थित होटल एल्लो प्यागोडामा बैठक भइरहेको छ । दिउँसो बसेको बैठकको सुरुमै ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गर्दै लिखित पत्र बुझाएपछि बैठक स्थगित भएको थियो ।

त्यसपछि राजीनामा माग्नेहरु बैठकस्थलबाट बाहिरिएका थिए । त्यसपछि अध्यक्ष चन्दले सबै बोर्ड सदस्य आएपछि बैठक फेरि सुरु गर्ने बताउनुभएको थियो । तर राजीनामा माग गर्नेहरुले बैठकमा सहभागी नहुने भन्दै पत्रकार सम्मेलन गरेपछि उनीहरु बिना नै बैठक सुरु भएको हो ।

चर्को विवादमा परेको नेपाल टी–२० लिगका लागि कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनसहित खर्च विवरण, आसन्न साधारणसभा र नयाँ नेतृत्वका लागि निर्वाचनको मितिसम्मका एजेण्डामा बैठकमा छलफल हुँदैछ ।

नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सम्झौता रद्ध गर्दै पठाएको पत्रका बारेमा पनि बैठकमा छलफल हुँदैछ ।

विवादमा परेको नेपाल टी–२० लिगको सम्झौता खारेज गर्न क्यानमाथि दबाव परे पनि भारतीय कम्पनीले नै सम्झौता रद्ध गरेको छ ।

Back to top button