साना उद्यमीलाई प्रविधिमैत्री बनाउने वातावरण बन्छः मन्त्री सिटौला

विराटनगर । प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ का साना उद्योग व्यवसाय र उनीहरुका उत्पादनलाई प्रविधिमैत्री बनाउनका लागि प्रदेश सरकारले वातावरण बनाउने बताउनुभएको छ ।

विद्युतीय अर्थतन्त्रको विस्तारले ठूला उद्योग र उत्पादनले मात्रै बजार प्रवद्र्धनको अवसर पाएको भन्दै सरकारले साना उद्यमीहरुलाई पनि इ–कमर्शमा अभिप्रेरित गर्न मन्त्रालयको तर्फबाट सहयोग पुर्‍याइने बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा आज विराटनगरमा भएको साना उद्यमीका सदस्यका लागि विद्युतीय सचेतिकरण कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिटौलाले विद्युतीय माध्यमबाट हुने वित्तीय कारोबारको विकासले परम्परागत कारोबारहरु पछि पर्दै गएको बताउनु भयो ।

आर्थिक क्षेत्रको समस्याले उद्यम व्यवसायमा नयाँ मान्छेहरुको उत्साह नदेखिएको अवस्थामा प्रदेश सरकारले साना उद्यमीहरुलाई सहयोग पुग्ने वातावरणको निर्माण गर्ने मन्त्री सिटौलाले जानकारी दिनुभयो ।

कार्यशालामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा साना उद्यम समितिका सभापति डिबी बस्नेतले कार्यशालाको शीप र ज्ञानले साना उद्योगका उत्पादनलाई सहज रुपमा बजारमा पुग्ने बाटो तयार हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले कार्यक्रमलाई अझ बढि अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)का कन्ट्री रिलेशनसीप म्यानेजर सरोज नेपालले पछिल्लो समयमा विकास भएको डिजिटल फाइनान्सले मुलुकको आर्थिक गतिविधिलाई नयाँ तरिकाले अघि बढाउन सहयोग पुगेको बताउनुभयो ।

उहाँले टाठाबाठाले मात्रै डिजिटल प्रविधिको फाइदा लिने र उनीहरुको मात्रै व्यवसाय  प्रवर्धन हुने अवस्थामा साना उद्यमीहरुलाई समेत त्यस तर्फ अघि बढाउनका लागि कार्यशाला केन्द्रीत रहेको जानकारी दिनुभयो । मुलुकका डिजिटल इकोनोमीको आवश्यकता बढ्दै गएको समेत उहाँले बताउनु भयो ।

स्वीस सरकार विकास सहयोग (एसडीसी) की सुब्रिना श्रेष्ठले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र विकासको कामलाई अझ अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले कार्यशालाका माध्यमबाट साना उद्यमीको उत्पादन र त्यसको बजार विस्तारमा सहयोग पुग्ने जानकारी दिनुभयो ।

साना व्यवसायीहरु पनि इ–कमर्शमा प्रवेश गर्दा अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्ने भन्दै सरकार र निजी क्षेत्रले पनि यस्ता क्रियाकलापहरुलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यशालामा महासंघका केन्द्रीय सदस्यहरु नरेन्द्रकुमार खड्का, उमेश डालमिया, तारानाथ घिमिरेलगायतको उपस्थिति थियो ।

प्रदेश अध्यक्ष ढकालले उद्योग व्यवसायीहरुले आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेकोले सरकारले उनीहरुलाई व्यवसायमा फर्काउनका लागि सहयोग गर्नुपर्ने बताउनुभयो । त्यसको एउटा माध्यम भने विद्युतीय अर्थतन्त्रको प्रयोग र विस्तारको कार्य हुनसक्ने ढकालकाो भनाई थियो ।

हात हातमा हुने मोबाइल लगायतका विद्युतीय प्रविधिको प्रयोगबाट पनि उत्पादनको प्रवर्धन गर्न सकिने अवसरलाई सदुपयोग गर्न उद्यमीहरुलाई आग्रह गर्नुभयो ।

महासंघले साना उद्यमीहरुको क्षमता विकासका लागि डिजिटल प्लेटफर्मको प्रयोगबाट इ–कमर्शको  प्रवर्धन गर्न सचेतिकरणका कार्यक्रमहरु गर्दै आएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले बताउनुभयो ।

उहाँले कार्यशालामा प्रदेश नं. १ का विभिन्न जिल्लाका महासंघका पदाधिकारीहरु, उद्यमी तथा व्यवसायीहरु, उद्योग प्रतिष्ठानका कर्मचारीहरु लगायत कार्यशालामा ५० जनाको सहभागीता रहेको जानकारी दिनु भयो ।

Back to top button