
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एक्सरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।
माहगौबले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
केएमसी अस्पताल सिनामंगलमा महागौबको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका महागौब फ्लाई दुबईको एफ जेड–२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं ओर्लिएका थिए ।