परराष्ट्रमन्त्री पहिलो विदेश भ्रमणमा आज श्रीलंका जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज श्रीलंका जाँदै हुनुहुन्छ। परराष्ट्रमन्त्रीको यो पहिलो विदेश भ्रमण हो।

मन्त्री पौड्याल श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले जानकारी दिनुभयो।

परराष्ट्रमन्त्री पौड्याल श्रीलंली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।

परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ।

यसैगरी माघ २१ गते ७५औं स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ। परराष्ट्रमन्त्री डा. पौड्याल माघ २५ गते काठमाडौं फर्कने कार्यतालिका छ।

Back to top button