बेलायतमा तलब वृद्धिको माग गर्दै ५ लाख नागरिक सडकमा

काठमाडौं । बेलायतमा प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । हिजो राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रदरश्न भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

अधिकांश शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी आन्दोलनको प्रमुख माग तलब वृद्धि रहेको छ । साथै, प्रदर्शनकारीले मुद्रास्फिति नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् ।

अलजजिराका अनुसार प्रदर्शनमा करिब ३ लाख शिक्षक मात्र सहभागी छन् । उनीहरूले कोरोना र त्यसपछि युक्रेन युद्धका कारण बढेको मुद्रास्फितिका जीवनशैली मुस्किल बनेको बताएका छन् । आन्दोलनमा सहभागी शिक्षकहरूले दैनिक १० घण्टा काम गरेपनि पास्ता खाएर दिन बिताउनुपर्ने अवस्था रहेको बताएका छन् ।

हड्तालअघि प्रधानमन्त्री कार्यालयले अराजकता निम्तने गरी प्रदर्शन नगर्न चेतावनी दिएको थियो । यद्यपि प्रदर्शनकारीले सरकारको चेतावनीसँग हच्किएनन् । सञ्चार माध्यमले ‘लकडाउन २०२३’ नाम दिएको यो प्रदर्शनलाई कतिपयले ‘वाकआउट वेनस्डे’ भनेका छन् । यसलाई कतिपयले १९७८–७९ को हड्तालसँग तुलना गरेका छन् ।

वासिंटन पोस्टसँग कुरा गर्दै युनिभर्सिटी अफ क्याम्ब्रिजका प्रोफेसर क्याथरिन बर्नार्डले बताउनुभए अनुसार बेलायतमा हड्तालसम्बन्धी कडा कानुन छ र यति ठूलो संख्यामा सडकमा आउनु गैरकानुनी हो । यद्यपि ५ लाखभन्दा बढी मानिसले घरबार छोड्नु गम्भीर विषय हो ।

Back to top button