दोलखामा आगलागीबाट ९ घर जलेर नष्ट

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर–९ कटुवाचौरमा गएराति भएको आगलागीमा परी ९ घर जलेर पूर्णरुपमा नष्ट भएका छन्। आगलागीबाट ४ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

राति करिब ११ बजे स्थानीय रुद्रबहादुर ओलीको घरबाट सुरु भएको आगलागी नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी,स्थानीयलगायतको पहलमा नियन्त्रणमा आएको हो।

आगलागीबाट ३ पक्की घर र ६ वटा जस्ताको टहरा पूर्णरुपमा नष्ट भएको प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताउनुभयो। आगलागीमा परी केही चौपाया तथा पसल पूर्णरुपमा नष्ट भएको स्थानीयले बताएका छन् ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधसभा सदस्य इश्वरी रिजालले विज्ञप्ति जारी गर्दै आगलागी पीडितलाई तत्काल राहत र पुर्नवासको व्यवस्था गर्न संघीय तथा प्रदेश सरकारसँग माग गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले आगलागी पीडितको लागि तत्काल लताकपडा,भाडावर्तनसहितको ४ सेट राहत सामग्री सहयोग गरेको उपमन्त्री भरत नारायण प्रधानले बताउनुभयो ।

उक्त सामग्री भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धरले पीडितलाई हस्तान्तरण गर्नुभएको थियो।

Back to top button