
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्ने छ।
पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा पार्टीको आन्तरिक गतिविधि, सरकार सञ्चालनमा पार्टीको भूमिका, पार्टीका नेताको जिम्मेवारी हेरफेरलगायतका विषयमा छलफल हुनेछ।
हिजो पनि स्थायी कमिटी बैठक थियो। बैठकले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उहाँको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभएको थियो। बैठकपछि उहाँले भन्नुभएको थियो,‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ। किनकि उहाँको (रवि)को मुद्दा अझै बाँकी छ। टुंगो लागेको छैन।’
सत्ता साझेदार दलमा कुनै समस्या नरहेको बताउँदै महराले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने अभिव्यक्ति निजी भएको र यसले गठबन्धनमा कुनै समस्या नल्याउने समेत बताउनुभयो।
प्रधानमन्त्रीको व्यस्तताका कारण हिजोको बैठक अनिर्णित भएपछि आजलाई बैठक बोलाइएको नेता महराले बताउनुभयो।