फुटबलर विशाल राई पनि अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली फुटबल खेलाडी विदेश पलायन हुने शृंखला जारी रहँदा मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।

राष्ट्रिय टिमका सदस्य समेत रहनुभएका विशालले मच्छिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेल्दै आउनुभएको छ । आज मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठलगायत खेलाडीहरुले विशाललाई उज्ज्वल भविष्यको शुभकामनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गर्नुभएको छ ।

म्यानेजर श्रेष्ठले विदाईको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ ।

यस्तै, पछिल्लो समय नेपाली राष्ट्रिय टिममा खेलिसकेका र खेलिरहेकादेखि भविष्यमा खेल्न सक्ने युवा खेलाडीहरु पनि अष्ट्रेलिया गइरहेका छन् । नेपालका करिब ४० खेलाडी अहिले अष्ट्रेलियामा कम्युनिटी लिग खेलिरहेका छन् ।

नेपालमा नियमित खेल नहुने र भविष्य पनि अन्यौल हुने भन्दै खेलाडीहरु धमाधम विदेश पलायन भइरहेका छन् । फागुन १९ गतेदेखि ए डिभिजन लिग गर्ने भनेर सार्वजनिक गरिसके पनि खेलाडीहरु विदेश गइरहेका छन् ।

यस्तै, केही समयअघि मात्रै चर्च ब्वाइजमा अनुबन्ध हुनुभएका तेज तामाङ र दिनेश राजवंशी, संकटामा अनुबन्ध हुनुभएका गौतम श्रेष्ठ, खुमलटारमा अनुबन्ध हुनुभएका नितिन थापा मगर अष्ट्रेलिया जनुभएको थियो।

Back to top button