सांसद चौधरी जेल चलान

धनगढी । सांसद अरुण चौधरी जेल चलान हुनुभएको छ । हिजो बाँकेबाट पक्राउ पर्नुभएका चौधरीलाई प्रहरीले आज बिहानै जिल्ला अदालत कैलालीमा बुझाएको थियो। अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारगार चलान हुनुभएको हो ।

प्रहरीले कैलाली–२ बाट निर्वाचित सांसद चौधरीलाई हिजो बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो। करिब १२ वर्षअघि उहाँलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। सोही आदेशअनुसार उहाँ जेल चलान हुनुभएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका–१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उहाँ पक्राउ पर्नुभएको थियो। उहाँ नागरिक उन्मुक्ति पार्टीको प्रतिधितित्व गर्दै संसदमा प्रवेश गर्नुभएको हो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा चौधरी २१ हजार ८ सय ७१ मत ल्याएर विजयी हुनुभएको थियो ।

उहाँले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गर्नुभएको थियो। रावलले १६ हजार १ सय २८ मत पाउनुभएको थियो भने बडुवाल १५ हजार १ सय १६ मतसहित तेस्रो हुनुभएको थियो।

Back to top button