सीएनआई कोसी एक्स्पोमा आज सविन राईको प्रस्तुती हुने

विराटनगर । युवा पूस्तामाझ अत्यधिक लोकप्रिय पप स्टार सविन राईले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज साँझ आफ्नो प्रस्तुति दिनुहुने भएको छ ।

गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाउनुभएका सविन राई र उहाँको चर्चित ब्याड फारोहको प्रस्तुतिले आज विराटनगरका दर्शकलाई भरपुर मनोरञ्जन दिने आयोजकको विश्वास छ ।

प्रदेश १ कै सुन्दर शहर धरानबाट संगीतको यात्रा आरम्भ गर्नुभएका गायक राईको प्रस्तुतिले आजको माहौल तताउने छ । यसअघि पनि विराटनगरमा गायक राईले प्रस्तुति दिंदा उहाँलाई लाइभ सुन्न विराटनगरबाट मात्रै नभई पूर्वका प्रमुख शहरहरु इटहरी, धरान, उर्लाबारी, दमक, गाईघाट र विर्तामोडसम्मका दर्शक उर्लिएका थिए ।

उत्कृष्ट साउण्ड सिस्टम र लाइटमा उहाँले दर्जनौं गीतका माध्यमबाट आज विराटनगरको सन्ध्याकालिन चिसोलाई तताउने निश्चित छ । गुराँसको फेदमुनी, कोमल त्यो तिम्रो वदनमा, किन कि म, नमूना, म संसार जित्ने आँट गर्दैछु जस्ता गीत उहाँका फ्यान फलोलर्सहरुका लागि कहिल्यै छुटाउन नमिल्ने गीतभित्र पर्दछन् ।

Back to top button