ब्राउन सुगरसहित असई विराटनगरबाट पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित नेपाल प्रहरीका एक जना जुनियर अधिकृतलाई नै विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ ।

भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ रानीस्थित १ नम्बर ढाटबाट असइ (प्रहरी सहायक निरीक्षक) घनश्याम लाखे पक्राउ परेको प्रहरीले जनाएको छ ।

उदयपुरको कटारी नगरपालिका–५ घर भएका ३० वर्षीय लाखे प्रदेश १–०३–००१ प १३५९ नम्बरको मोटरसाइकलमा सवार रहेको बताइएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार दिउँसो ४ः २० बजेतिर मोटरसाइकल रोकेर चेकजाँच गर्दा १ दशमलव ५२ ग्राम ब्राउन सुगर फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताउनुभएको छ ।

उहाँका अनुसार इलामको प्रहरी चौकी कर्फोक दरबन्दी भएका लाखे इलामकै इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत रहेको खुलेको छ।

ब्राउन सुगर बरामद भएसँगै असइ लाखेले चलाएको मोटरसाइकलको पछाडि बसेका इलामको माङ्सेबुङ गाउँपालिका–२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आज अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी राईले दिनुभयो ।

ब्राउन सुगरको धन्दामा संलग्न रहेको पाइएपछि यसअघि पनि गत मंगलबार विराटनगरबाट नेपाल प्रहरीका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका थिए। सुरुमा १ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका विराटनगर–१५ का २० वर्षीय नजाम खानले नाम लिएपछि हवल्दार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट भारतको जोगवनीदेखि नेपालतर्फ ब्राउन सुगर भित्राउन यादवले खानलाई भरियाको रूपमा प्रयोग गरेको खुलेको छ। विराटनगर–१४ मा बस्दै आएका यादव वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भई विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थिए।

Back to top button