सहिद स्मारक ए डिभिजन लिगको ५० प्रतिशत तयारी पूरा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १९ गतेदेखि हुने तय भएको सहिद स्मारक ए डिभिजन लिगको ५० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिएको छ।

डबल राउन्ड रोबिन लिग पद्धतिमा हुने लिगका कुल १ सय ८२ खेल दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा हुने एन्फाले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

‘अब एक महिना बाँकी छ, हामीले यसलाई काउन्ट डाउनका रूपमा पनि हेरेका छौं, त्यसैअनुसार तयारी पनि गरिरहेका छौं,’ एन्फाका महासचिव किरण राईले भन्नुभयो, ‘प्रोमोशन र प्राविधिक कुरा बाँकी छ। बाँकी तयारी भइसकेको छ।’

यद्यपि, लिग सुरु हुन २९ दिन बाँकी रहँदासम्म पनि मुख्य प्रायोजक नपाउनुलाई गम्भीर रूपमा लिइएको महासचिव राईले बताउनुभयो । उहाँले प्रमुख प्रायोजकमा कतार एयरवेज रहने सम्भावना रहेको भन्दै कतार एयरवेजले नसक्ने अवस्था भए अर्को खोृजिने बताउनुभयो ।

खेलाडी दर्ताको प्रक्रिया जारी रहेको र माघ २९ सम्म खेलाडी दर्ता भइसक्ने विश्वास व्यक्त गर्दै लिग निर्देशक सन्जीव मिश्रले प्राविधिक कारणले मात्रै ढिलो भएको तर गम्भीर समस्या नहुने बताउनुभयो । एन्फाले चाहेर पनि क्लबहरु लामो समय लिग खेल्न नचाहेकाले तीन महिनामा सकाउनु पर्ने निर्देशक मिश्रले बताउनुभयो ।

ए डिभिजन लिगको विजेताले ७५, उपविजेताले ५० र तेस्रो हुनेले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। लिगमा एक क्लबले फेयर प्ले अवार्ड स्वरूप ३ लाख पुरस्कार उपलब्ध गराउने एन्फाको तयारी छ।

यस्तै, उत्कृष्ट उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले २–२ लाख प्राप्त गर्नेछन्। उदीयमान खेलाडीले १ लाख ५० हजार र प्रत्येक खेलको विजेताले ५० हजार रुपैयाँ पाउने छन्। बराबरी हुँदा २५–२५ हजार बाँडिने र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले १० हजार रुपैयाँ पाउने एन्फाले जानकारी दिएको छ।

Back to top button