नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि, अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय कमिटीको बैठक आजलाई बोलाइएको छ।

ललितपुरको बालकुमारीमा बोलाइएको २ दिने बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुहुने छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बोलाइएको केन्द्रीय कमिटीमा पार्टीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने महासचिव डा. वेदुराम भुसालले बताउनुभयो।

बैठकमा अध्यक्ष नेपालले पार्टीको राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ । प्रतिवेदनमा केन्द्रीय सदस्यले आफ्नो रायसहितको सुझाव राख्ने कार्यतालिका छ। यस्तै महासचिव भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।

अध्यक्ष र महासचिवको प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माण लगायतका विषय समेटिएको छ। यी विषयमा केन्द्रीय सदस्यको थप राय र सुझावले प्रतिवेदनलाई थप परिमार्जित बनाउने बताइएको छ।

त्यस्तै बैठकमा सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ। बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ। सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।

आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले सङ्गठन निर्माणलाई जोड दिएको छ।

Back to top button