कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ।

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको विपक्षी दलको बैठकले राष्ट्रियसभामा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो। उहाँले उम्मेदवारको टुंगो भने भोलि लाग्ने जानकारी दिनुभयो ।

‘संघीय संसदमा भएको विपक्षी दलका नेताहरूको बैठक सम्पन्न भएको हो। मूलतः भोलि राष्ट्रियसभाको निर्वाचनमा नोमिनेसनबारे कुराकानी भयो। उम्मेदवारीबारे के गर्ने छलफल भयो,’ उहाँले भन्नुभयो। बैठकमा कांग्रेस, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए।

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ। ५८ सदस्य रहेको राष्ट्रियसभामा एमाले १५, माओवादी केन्द्रको १५, कांग्रेस १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, राजमो १ र स्वतन्त्र एकबाट एकजना सांसद रहेका छन्। यस्तै, राष्ट्रपतिबाट मनोनीत ३ सिट छन्।

Back to top button