नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। दुई दिने बैठक बालकुमारीमा जारी छ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासिचव वेदुराम भुसालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुनेछ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बोलाइएको केन्द्रीय कमिटीमा पार्टीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने महासचिव डा. वेदुराम भुसालले बताउनुभयो।

अध्यक्ष र महासचिवको प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणलगायतका विषय समेटिएको छ। यी विषयमा केन्द्रीय सदस्यको थप राय र सुझावले प्रतिवेदनलाई थप परिमार्जित बनाउने बताइएको छ।

यस्तै, बैठकमा सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ। बैठकले आवश्यकता अनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ। सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ।

आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले सङ्गठन निर्माणलाई जोड दिएको छ।

Back to top button