स्वास्थ्य क्षेत्रमा देखिने परिवर्तन ल्याउँछु : मन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अठोटका साथ स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएको बताउनुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौं राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सीमित स्रोत र साधनका वावजुद आफूहरुले स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन ल्याउने अठोटका साथ स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएको बताउनुभएको हो ।

‘हामीले ठूलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौँ। एकैचोटि सबै समस्या समाधान नहोला। हाम्रो स्रोत र साधनका सीमा छन् तर आम जनताले महसुस गर्नेगरी काम गर्नेछौँ,’ उहाँले भन्नुभयो,‘पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौँ, अहिले अध्ययनमै छौँ।

स्वास्थ्य क्षेत्रका बेथिति, भ्रष्ट्राचार र अपारदर्शिताविरुद्ध निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठुलो योगदान हुन्, हामी जिम्मेवारीमा छौँ, तपाईहरूले हामीलाई खबरदारी गर्नुपर्छ।’

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रका विकृति र विसङ्गति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । देशको स्वास्थ्य क्षेत्र विकराल रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवा गरिब जनताको पहुँचमा कसरी पु‍र्‍याउन सकिन्छ भन्ने विषयमा खोज गरेर कलम चलाउन पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो।

 

Back to top button