
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल मुद्रण उद्योग महासंघको नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रसँग हातेमालो नगरी आर्थिक समृद्धि हुन नसक्ने बताउनुभएको हो ।
मन्त्री भण्डारीले आर्थिक क्षेत्रमा देखिएका राष्ट्रिय समस्या समाधानका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले उद्योग सम्बद्ध कानुनको पुनरावलोकन गरिने उल्लेख गर्दै उद्योग मन्त्रालयबाट औद्योगिक ग्रामहरू सञ्चालनमा ल्याउने कार्य लगातार अघि बढिरहेको जानकारी गराउनुभयो।
साथै उहाँले युवा उद्यमीलाई सहजीकरण गर्न सरकारले छरिएर रहेका कोषलाई एकीकृत गरेर कार्यान्वयनमा ल्याउने बताउनुभयो। मन्त्री भण्डारीले १५औं योजना र वार्षिक बजेट बमोजिमका लक्ष्यअनुरुप उद्योग क्षेत्रमा कूल गार्हस्थ्य उत्पादनमा योगदान बढाउनका लागि पनि हरेक क्षेत्रमा औद्योगिक विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले भन्नुभयो,‘हाम्रो मन्त्रालय स्टार्टअप पोलिसी तर्जुमा गर्ने अन्तिम तयारीमा जुटेको छ, जसमा नयाँ उद्योगी तथा व्यवसायीहरूलाई हरेक क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र उद्यमशीलता विकास गरी स्वरोजगार सिर्जना गराउने लक्ष्य रहेको छ।’
मुद्रण व्यवसायीका संस्थागत रूपमा आएका कुरामा सरकार सकारात्मक भएर सहायता गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले राज्यका सीमा र परिधिभित्र रहेर मुद्रण व्यवसायीका माग प्राथमिकताका साथ पूरा गर्न सरकार तयार रहेको बताउनुभयो।