तत्काल मन्त्रालयको संख्या बढ्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालयको संख्या बढाउनुपर्ने अवस्था आउँदा पनि पहिलेका जस्तो ठूलो संख्या नहुने बताउनुभएको छ ।
प्रदेशलाई अधिकार सम्पन्न बनाउने क्रममा कार्यवोझ बढ्यो भने पनि त्यसका आधारमा १ वा २ वटा मात्रै मन्त्रालय थपिन सक्ने भन्दै उहाँले त्यो भन्दा बढी संख्या नथपिने बताउनुभयो ।
प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी मोरङले विराटनगरमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले तत्काल चाँही मन्त्रालयको संख्या नबढाइने स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारले यसअघि नै १३ बाट घटाएर मन्त्रालयको संख्या ९ बनाइसकेको छ। ‘अहिले प्रदेश सरकारको काम कारबाहीमा केही ढिलाइ भएजस्तो देखिएको छ,’ उहाँले भन्नुभयो, ‘अब सरकारले गति लिनेमा सबैलाई विश्वास दिलाउन चाहन्छु।’
गठबन्धन सरकार हुँदा काम कारबाहीमा केहि अलमल जस्तो देखिएपनि अब त्यस्तो नहुने उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशमा पत्रकारमैत्री कानुन निर्माणमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । प्रदेश सञ्चार प्रतिष्ठानलाई ऐन बनाएरै ल्याइने भन्दै उहाँले अघिल्लो सरकारले प्रतिष्ठान खारेज गरेकोमा असन्तुष्टि ब्यक्त गर्नुभयो ।
यसैबीच प्रेस चौतारीको स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङ शाखाले २ जना पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । ११ हजार १ सय रूपैयाँ राशिको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार दिनेश सुब्बा र १५ हजार ५ सय राशिको जनार्दन मैनाली पत्रकारिता पुरस्कार तेजेन्द्र भण्डारीलाई प्रदान गरिएको हो।
मोरङ कानेपोखरीका सुब्बा धरानबाट प्रकासित हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत छन्। विराटनगरका भण्डारी रातो तारा डटकम अनलाइनका सञ्चालक एवं प्रधान सम्पादक हुन्। दुवै जनालाई मुख्यमन्त्री कार्कीले पुरस्कृत गर्नुभएको हो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुईटेल, नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, पत्रकार महासंघ मोरङ अध्यक्ष सञ्जिव खनाललगायत पत्रकारहरुका विभिन्न संघ–संगठनका अध्यक्षहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष चिना थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Back to top button