नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन सञ्चारमन्त्री शर्माबाट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन गर्नुभएको छ । आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री शर्मासँगै मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतको उपस्थिती छ । नेपाल टेलिकम आज १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ ।

टेलिकमका दुई करोड १३ लाख २५ हजारभन्दा बढी ग्राहक छन् । कम्पनीले हरेक वर्ष माघ २२ मा वार्षिकोत्सव मनाउने गरेको छ । कम्पनीले मोबाइल टेलिफोन सेवा,जिएसएम,जीपीआरएस,थ्रीजी र फोरजी सेवा दिइरहेको छ ।

विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएपनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो ।

नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो । कम्पनीको आर्थिक वर्ष २०७८–८९ को कुल राजस्व रू ४४ अर्ब ३७ करोड छ । जसमा खुद नाफा रू ८ अर्ब ४७ करोड छ । कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मङ्सिरसम्मको विवरणमा २ करोड १३ लाख २५ हजारभन्दा बढी रहेको छ ।

सोमध्ये जीएसएम मोबाइल ग्राहक २ करोड १ लाख ६८ हजार, एडिएसएल सेवाका ४ लाख ३७ हजार र पिएसटीएन सेवाका ४ लाख ५५ हजार रहेका छन् । त्यसैगरी एफटिटीएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार १ सय १४ छन् भने एफटिटीएच डाटाका ग्राहक २ लाख ११ हजार ५ सय ७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता १ करोड १५ लाख ५० हजार छन् । सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ ।

विसं २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२ दशमलव २४ प्रतिशत रहेको छ । टेलिकमका अनुसार हालसम्म देशका ७७ वटै जिल्लाका ७ सय ३९ स्थानीय तहमा फोरजी एफटीइ सेवाको पहुँच स्थापित भएको छ । फोरजी विस्तारकार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

टेलिकमले देशभरमा पिएसटीएन,सिडिएमएलगायत आधारभूत टेलिफोन र जिएसएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको छ । इन्टरनेट सेवामा डायल–अप आइएसडीएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडिएसएल इन्टरनेट र स्काइ डाटामार्फत वायरलेस इन्टरनेट सेवा प्रदान गर्ने गर्दछ ।

यस्तै, बैंक तथा विभिन्न निकायलाई तथ्याङ्क आदन–प्रदान गर्न लिज्ड सर्किटको सेवासमेत टेलिकमले दिने गरेको छ । कम्पनीमा हाल करिब ४ हजार कर्मचारी कार्यरत छन् । विसं १९७० मा काठमाडौंमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको थियो ।

Back to top button