नयाँ सांसदबाट जनताले खुशी पाएनन्: धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताउनुभएको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद गुरुङले नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै उहाँले अझै नेताहरु नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताउनुभयो । उहाँले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको बताउनुभयो । उहाँले देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मुलुक भयानक आर्थिक शंकटतर्फ उन्मुख छ । हामीले ठूला सपना मात्रै बाँडिरहेका छौँ । त्यो बाँड्दै गर्दापनि हाम्रै आँखा अघि व्यवसायीहरु धरापमा परेको देखिरहेका छौँ, आत्महत्या त धेरैले गरिसकेका छन् । आत्मदाह आफ्नै अघि गरिरहेका छन्, यसले पनि छुँदैन कि के हो, दिनदहाडै आत्मदाह भएको छ ।’

सांसद गुरुङले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरु पटक–पटक लडिरहेको बताउनुभयो । उहाँले यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित भएपनि नयाँ प्रतिनिधिसभा सदस्यहरु पनि पुरानै नेताहरु सरह सत्तामा लिप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘व्यवसायीमा कोलाहाल मच्चिरहेको छ, तैपनि सरकारमा बस्ने मन्त्रीहरु पुरानो गाडी भयो नयाँ गाडी पाउँ भनेर निवेदन गरिरहेका छन् । हामी यस्तो बिडम्वना भोगिरहेका छौँ । सपना बाँडेर, गफ गरेर मात्रै हुँदैन, संसद संसद नै हो, सार्वभौम जनताको सत्ता हो, यसमै घोचपेचका मात्रै कुरा हुन्छ । हामी नेताहरु गफ मात्रै गरिरहन्छौँ, काम गर्दैनौँ । देश अधोगतितिर उन्मुख छ ।’

Back to top button