सीएनआई कोसी एक्स्पोमा आज र्‍यापर ‘दोङ’को प्रस्तुती

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज क्लासएक्स ब्याण्डका चर्चित र्‍यापर दोङको प्रस्तुति रहने छ । ‘दश टाउके रावण’ दोङको चर्चित हिपहप गीत हो ।

हिपहप म्यूजिकमा नाम कमाएका महंगा र्‍यापर दोङको देश विदेशमा निकै माग हुने गरेको छ । र्‍याप र हिपहप म्यूजिक युवा पुस्ता माझ लोकप्रिय छ । नेपालमा पछिल्लो समयमा र्‍याप र हिपहपका नयाँ–नयाँ प्रतिभाहरु पनि आइरहेका छन् ।

दुवै संगीतलाई अघि बढ्न भने डिजिटल प्लेटफर्म मुख्य सहयोगी बनेको छ । दोङले गाएका दश टाउके रावण सँगै ‘सक्दिन, लुकि राख, सपना पुरा, फरक छैन’ लगायतका र्‍याप गीत पनि चर्चित छन् ।

यस्तै आज स्थानीय ‘संस्कृति ब्याण्ड’ ले समेत सांगीतिक प्रस्तुती पस्कने छ । यसैबीच एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ ।

हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा आजदेखि त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो । यो अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको जनाइएको छ ।

९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैयाँ कायम गरिएको जनाइएको छ । ९ कक्षा माथिका विद्यार्थी र अरु अवलोकनकर्ताहरुका लागि साँझ साढे ६ बजेपछि भने टिकट दर २०० रुपैयाँ नै रहने छ ।

टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको जनाइएको छ । विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा सीएनआई कोसी एक्स्पो २०७९ जारी छ ।

Back to top button