
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
त्यस्तै २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन बिक्री खुला गरेको छ ।
आजदेखि आवेदन खुलेको आईपीओ छोटोमा २६ माघ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा ८ फागुनसम्म आवेदन दिने म्याद थप हुनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासनको लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाह मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले इलाममा ७.८ मेगावबाटको सुपरमाई जलविद्युत आयोजना निमार्ण गरि ११ कात्तिक २०७५ देखि उत्पादन सुरु गरिसकेको छ । आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १९ करोड ८ लाख ४८ हजार २०५ रुपैयाँ रहेको छ । यस्तै आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ ।