नागरिकता विधेयकलाई सदनमा लैजाने तयारी

काठमाडौं । सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सबै राजनीतिक दलका प्रमुख सचेतक र दलका प्रतिनिधिहरूलाई बोलाएर नागरिकता विधेयक अगाडि बढाउने तयारी रहेको बताउनुभएको छ ।

नागरिकतालगायतका एक दर्जन विधेयकहरु चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको उहाँले बताउनुभयो । यस अनुसार सम्बन्धित मन्त्रीहरुलाई समेत निर्देशन दिइसकिएको प्रधानमन्त्री प्रचण्डले जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीमा विश्वासको मत माग्दै गदौ प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले ६ महिनाभित्र नागरिकता कानुन बनाउने बाचा गर्नुभएको थियो। आफ्नो बाचा अनुसार नै नागरिकता ऐन बनाउने आफ्नो चाहना रहेको दलका प्रतिनिधिहरु समक्ष प्रधानमन्त्री प्रचण्डले राख्नुभएको छ ।

यस्तै, गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहनुभएको छ । नागरिकता विधेयक अगाडि बढाउने मन्त्रालय पनि गृह मन्त्रालय हो ।

अघिल्लो कार्यकालमा धेरै छलफल भएर पनि नागरिकता ऐन बन्न सकेको थिएन । संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई पटक पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीरण नगरिदिँदा नागरिकता ऐन बन्न नसकेको हो ।

तत्कालीन अवस्थामा नेकपा एमालेले नेपाली पुरुषसँग बिबाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता (वैवाहिक अंगीकृत नागरिकता) दिनुपर्ने विषयमा अडान लिएको थियो ।

सरकारमा सँगै रहँदा माओवादी केन्द्रले पनि यही विषयमा आफ्नो अडान राखेको थियो । तर, पनि कांग्रेस नेतृत्वमा सरकार बनेपछि ०६३ अनुसार नै विवाह गरेर आए लगत्तै वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधानको निरन्तरताको पक्षमा माओवादी केन्द्र रहेको थियो । अहिले फेरि एमाले र माओवादी सरकारमा छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार नागरिकता लगायत, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य सम्बन्धी विषयमा समेत विधेयकहरु तयार भएका छन् । तयार भएका विधेयकहरुलाई सदनमा लैजाने तयारी सम्बन्धित मन्त्रालयलाई गर्न निर्देश गरिएको छ ।

Back to top button