
काठमाडौं। टर्की र सिरियामा भूकम्पका कारण करिब ३ सय जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा आज गएको ७ दशमलव ८ म्याग्निच्युटको भूकम्पका कारण २ देशमा ३ सय जनाको मृत्यु भएको हो । सयौं व्यक्तिहरु घाइते भएका छन् । भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् ।
त्यसलगत्तै सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ३० जनाको मृत्यु भएको छ । यस्तै टर्कीका अधिकारीहरुले आफ्नो देशमा ७६ जनाको मृत्यु भएको र ४ सय ४० जना घाइते भएको बताएका छन् ।
भूकम्पको धक्का साइप्रस, लेबनान, इजरायल र प्यालेस्टाइनमा समेत महसुस गरिएको थियो । टर्कीको गाजियानटेप निवासी अर्डेमले रोयटर्ससँग कुरा गर्दै यत्तिको कडा धक्का अहिलेसम्म महसुस नगरेको बताउनुभएको छ ।
भूकम्पले पुर्याएको क्षति पछि टर्की सरकारले देशमा संकटकाल घोषणा गरेको छ । टर्कीका गृहमन्त्रीले देशका १० वटा शहरमा भूकम्पले बढी क्षति पुर्याएको बताउनुभएको छ ।