सुदूरपश्चिमका मुख्यमन्त्रीले आउदो बुधबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आउदो बुधबार ( माघ २५ गते ) विश्वासको मत लिने तयारी गर्नुभएको छ । पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले माघ २५ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गर्नुभएको छ ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेगरी तयारी थालिएको जानकारी दिनुभयो ।

‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पर्सी विश्वासको मत लिने भन्ने कुरा जानकारीमा आएको छ । हामी त्यहीअनुसार व्यवस्थापनमा लागेका छौँ,’ सभामुख भण्डारीले भन्नुभयो,‘ आज उहाँहरुले आधिकारीक पत्र पठाउने कुरा जानकारीमा आएको छ ।’

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता समेत रहनुभएका रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।

Back to top button