राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध चयन हुनुभएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षमा एकल उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुनुभएको सदनलाई जानकारी गराउनुभयो।

नेपाली कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी अर्याल निर्विरोध निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि हिजो तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको थियो।

अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा हुनुहुन्थ्यो।

लामो समयसम्म नेकपा एमालेमा रहनुभएकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो।

राष्ट्रिय सभामा उहाँ मधेस प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको कार्यकाल सकिएपछि करिब १ वर्षदेखि उक्त पद रिक्त थियो।

Back to top button