पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैनः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताउनुभएको छ ।

व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रष्ट पार्नुभएको हो । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ ।

महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक–ट्राफिक चोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ । विकल्पसहितको पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने मेयर कोइरालाले प्रष्ट्याउनुभएको हो ।

“हरेक पार्किङस्थलबाट २ देखि ३ मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ,” मेयर कोइरालाले भन्नुभयो, “विराटनगरलाई जस्तो छ त्यस्तै छाडिदिऊ भन्नुहुन्छ भने हाम्रो भन्नु केही छैन । तर, विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउने हो भने तपाईंहरूले सहयोग गर्नुहोस् ।”

 सडकमा पार्किङ निषेधले व्यापार भएन भन्नु गलत भएको उहाँको तर्क थियो । बानी नपरेका कारण अलि असहज महसुस भएको हुनसक्ने भन्दै उहाँले बिस्तारै सबै ठिक हुने बताउनुभयो ।

महानगरले पुरानो जलजलाहल उत्तर, शनिमन्दिर पूर्व–दक्षिण, गुद्री, बुधहाटचोकको वी–प्लटसहित विभिन्न स्थानमा पार्किङको व्यवस्थापन मिलाएको छ । बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको छ ।

सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रुपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको भन्दै मेयर कोइरालाले एम्बुलेन्स, दमकलजस्ता अतिआवश्यकीय सवारी साधनका लागि पनि सडक खुल्ला राख्नुपर्ने तर्क गर्नुभयो ।

मेयर कोइरालाले महानगरलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत ट्राफिक लाइट र सिटीबस सञ्चालनका लागि समेत प्रक्रिया अघि बढाइसकेको जानकारी गराउनुभयो ।

उपमेयर शिल्पा निराला कार्कीले यात्रु र आम सर्वसाधारणले सडकलाई पार्किङ निषेध गरेको प्रति खुसी व्यक्त गरेको बताउनुभयो । उहाँले विराटनगर बनाउने अभियानमा साथ दिन व्यापारीहरूलाई आग्रह गर्दै भन्नुभयो “विराटनगर हामी सबैको हो, सबै मिलेर लाग्यौं भने मात्रै विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौं ।”

वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगतले बजारलाई व्यवस्थित बनाउन सहयोग गर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो ।सडकबाट पार्किङ हटाउँदा बजार सुन्दर देखिएको उहाँको भनाइ थियो ।

महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको बताउनुभयो ।

कार्यक्रममा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, सामाजिक अभियन्ता वसन्त अधिकारीलगायतले महानगरले सुरु गरेको अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

जोगबनीबाट सामान ल्याउन अहिले कडाइ गरिएको छ । सीमामा कडाइ गरेपछि उपभोक्ताहरु उता जाने अवस्था नै नरहेको भन्दै पब्लिक फोरम अध्यक्ष ढुंंगेलले विराटनगरका व्यापारिहरुले आत्तिनु नपर्ने बताउनुभयो । सडकमा पार्किङ गर्न नदिँदा व्यापार व्यवसाय चौपट्ट भएको भन्दै व्यापारीहरूले महानगरको ध्यानाकर्षण गराएका छन् ।

छलफलमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, मोरङ व्यापार संघका महासचिव अनिल सारडा, विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीलगायतको सहभागिता रहेको थियो । महानगरको अभियानमा साथ दिन तयार भएको बताउँदै उनीहरूले सडकमा पार्किङ गर्न दिएर सवारी साधनलाई एकतर्फी सञ्चालन (वन वे) बनाउन आग्रह गरेका थिए ।

Back to top button