जुम्लामा आगलागी हुँदा एक बालिकाको मृत्यु

वीरेन्द्रनगर । जुम्लाको चन्दननाथ नगरपालिका–१ मा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ। गएराति १२ बजेतिर स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा एक बालिकाको आगोमा जलेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आगलागीमा परी लोकबहादुरकी १४ वर्षीया छोरी बन्दना भण्डारीको मृत्यु भएको छ। प्रहरी निरीक्षक यमबहादुर बुढामगरले आगलागीमा लोकबहादुर भण्डारीको पुरै घर जलेर नष्ट भएको बताउनुभयो।

उहाँका अनुसार भण्डारीकी छोरी घरको तेस्रो तलमा रहेकी र आगो नियन्त्रण बाहिर गएकाले उनलाई बचाउन नसकिएको हो। परिवारका अन्य ७ जना सदस्यहरु भने सकुशल रहेका प्रहरीले जनाएको छ।

आगलागी भएको खबर पाउना साथ दमकल लिएर नियन्त्रणका लागि जनशक्ति परिचालन भएपनि घर जोगाउन नसकिएको जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले बताउनुभयो। उहाँले भन्नुभयो,‘आगलागी राति भएको हुनाले नियन्त्रण गर्न समस्या भएको हो। क्षतिको एकिन विवरण आउन बाँकी छ।’

यस्तै, के कसरी आगलागी भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top button