पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्ने बाटो खुल्यो

विराटनगर । मोरङको सुन्दरहरैचाको गोठ गाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न कोशी अस्पताल दिइने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारअन्तर्गत रहेको कोशी अस्पताल पूर्वाञ्चल विश्वविद्यालयलाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकको यो निर्णयसँगै पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्ने बाटो खुलेको हो । मेडिकल कलेज सञ्चालनका लागि चिकित्सा शिक्षा ऐनमा तीन वर्षदेखि सञ्चालन हुँदै आएको ३ सय शय्याको अस्पताल हुनुपर्ने मापदण्ड छ ।

पूर्वाञ्चल विश्व विद्यालयसँग पर्याप्त पूर्वाधार भए पनि आफ्नै हस्पिटल थिएन । मन्त्रिपरिषद्को बैठकबाट कोशी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न अनुमति पाएपछि विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनका लागि सहज भएको उपकुलपति प्रा. डा. यादवराज कोइरालाले बताउनुभयो ।

अब त्रिपक्षीय सम्झौतापछि मेडिकल कलेज संचालनको काम अगाडि बढ्ने उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र पूर्वाञ्चल विश्व विद्यालयबिच त्रिपक्षीय सम्झौता गरेर शिक्षक दरबन्दी खुलाउने उपकुलपति डा. कोइरालाले बताउनुभयो ।

एमबीबीएसको लागि भवन तयार रहेको भन्दै उहाँले शिक्षक दरबन्दी खुलाएर अर्को सालबाट एमबिबिएसको पठनपाठन गर्ने गरी अगाडि बढ्ने बताउनुभयो । एमबिबिएसको पाठ्यक्रम र भौतिक पूर्वाधार बनिसकेको र पुस्तकालयसमेत अपडेट गरिसकेको उहाँले बताउनुभयो ।

यसअघि २०७८ माघ ५ गते पूर्वाञ्चल विश्व विद्यालय र कोशी अस्पतालबिच शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने सम्झौता भएको थियो । उक्त सम्झौतालाई मन्त्रीपरिषद्को बैठकले स्वीकृत प्रदान गरेपछि मेडिकल कलेज संचालनको लागि बाटो खुलेको हो ।

Back to top button