महिला आईपीएलका लागि नेपालबाट ५ खेलाडीको नाम सिफारिस

काठमाडौं । भारतमा पहिलो पटक हुन लागेको महिला आईपीएल क्रिकेट (वुमन्स प्रिमियर लिग) डब्लूपीएलको अक्सनका लागि नेपालका ५ खेलाडीको नाम सिफारिस भएको छ ।

राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले पाँच खेलाडीको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिनुभयो ।

‘वुमन्स प्रिमियर लिगमा सम्बन्धित देशको बोर्डले नै खेलाडीको नाम सिफारिस गरेर पठाएको हो । लिगमा एसोसिएट राष्ट्रका खेलाडीहरुको लागि पनि कोटा रहेकोले हाम्रो खेलाडीहरुको लागि पनि यो राम्रो अवसर रहेको छ’, पाठकले भन्नुभयो ।

लिगका लागि यही फेब्रुअरी १३ मा अक्सन हुँदैछ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सीईओ हेमाङ्ग अमिनका अनुसार अक्सनका लागि १ हजार ५०० खेलाडीको नाम रजिस्टर भएको र यसै साता अक्सनको लागि अन्तिम लिस्ट सार्वजनिक हुनेछ ।

अन्तिम लिस्टमा हुने खेलाडी अक्सनमा समावेश हुनेछन् । डब्लूपीएल आगामी मार्च ४ देखि २६ सम्म मुम्बईमा हुनेछ । जसमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल २२ खेल हुनेछ ।

लिगमा हरेक टिमले बढीमा १८ खेलाडी राख्न पाउनेछन् भने कम्तीमा १५ खेलाडी हुनुपर्नेछ । यस्तै एक टिमले ७ जना विदेशी खेलाडी राख्न पाउनेछन् र त्यसमा १ जना एसोसिएट राष्ट्रको अनिवार्य हुनुपर्नेछ । प्लेइङ ११ मा पनि एक जना विदेशी खेलाडी अनिवार्य खेलाउनुपर्नेछ ।

Back to top button