सरकारी विदा धेरै भए,गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले विदामा पुनर्विचार आवश्यक भएको बताउनुभएको हो ।

‘हाम्रा सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ,सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ,’ उहाँले भन्नुभयो,‘गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो,‘हामीले गणतन्त्र दिवस मनाउँछौँ,प्रजातन्त्र दिवस मनाउँछौँ,लोकतन्त्र दिवस मनाउँछौँ। तर,ती सबै कार्यक्रमको चरित्र एउटै छ। त्यसलाई कसरी एकीकृत गर्ने,राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ ।’

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ।

Back to top button