प्रदेश प्रमुखको सम्बोधन पछि धन्यवाद दिँदै प्रदेशसभा बैठक स्थगित

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ को नामाकरणको विषय यही कार्यकालमा टुंगिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रदेशसभालाई पहिलो पटक आज सम्बोधन गर्दै उहाँले आम जनचासोको विषय रहेको भन्दै नामाकरणको विषय टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

अत्यधिक जनचासो र जनअपेक्षाको विषय नामाकरण रहेको भन्दै उहाँले उच्च प्राथमिकतामा राख्न यो प्रदेशसभा सक्षम हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले समृद्ध प्रदेश निर्माणमा अधिकतम प्रयास गर्नुपर्ने अवस्था रहेको भन्दै प्रदेशको प्राथमिकता पर्यटन, कृषि, सिंचाई, उद्योगलगायतको पूर्वाधार निर्माणमा हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदशेसभाको प्रमुख काम कानून निर्माण रहेको भन्दै वस्तुनिष्ठपूर्वक कानून निर्माण गरे बनाएका कानून संशोधन गरिरहनु नपर्ने बताउनुभयो ।

उहाँको सम्बोधनसँगै प्रदेशसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि बसेको आजको दोस्रो प्रदेशसभा बैठकले प्रदेशसभामा सम्बोधन गरेका खापुङलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव पारित गरेसँगै प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

Back to top button