कलाकार पदमप्रसाद पौडेलको निधन

काठमाडौं । पाका कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा आज निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे ३ बजे पौडेलको निधन भएको हो ।

पौडेल लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो। बेलुका ६ बजे पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिने र दाहसंस्कार गर्ने जनाइएको छ । अन्तिम संस्कारमा सबै कलाकारलाई उपस्थित हुन भनिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

पौडेल अभिनित पछिल्लो फिल्म ‘ऐना झ्यालको पुतली’ थियो, जुन यस वर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । फिल्मका निर्माताले पौडेलको निधनबाट आफूहरु स्तब्ध भएको जनाउनुभएको छ । हालै रिलिज भएको फिल्म ‘नालापानी’मा उहाँले राजगुरुको भूमिकामा अभिनय गर्नुभएको थियो।

यस्तै, रिसानी माफ, उपद्रो, आधा बाटोसहित ६८ वटा फिल्ममा अभिनय गर्नुभएका पौडेल चलचित्र कलाकार संघका आजीवन सदस्य समेत हो । टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत उहाँले अभिनय गर्नुभएको छ ।

Back to top button