एमाले अध्यक्ष ओली भट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुग्नुभएको छ । आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गर्न प्रचण्ड बालकोट पुग्नुभएको हो ।

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विस्वासको मत लिँदै हुनुहुन्छ । तर सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

डिल्लीबजारस्थित जेलमा भएको पार्टीको छलफलले रेशम चौधरीको रिहाइ नभएसम्म विश्वासको मत नदिने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो।

नागरिक उन्मुक्ति पार्टीका सात सांसद निर्णायक बन्दा रावल नेतृत्वको सरकार संकटमा परेको हो। रावलले भोलिसम्म जसरी पनि विश्वासको मत लिइसक्नुपर्नेछ।

ओली र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन रेशम चौधरीमाथि दबाब बढाउनुभएको छ । एमाले अध्यक्ष ओलीले यसअघि माघ महिनाभित्रै रेशम चौधरीको रिहाइ गर्ने प्रतिवद्धता जनाउनुभएको थियो।

सुदूरपश्चिम सरकार बन्ने बेला र सभामुख निर्वाचनका बेलासमेत ओलीले एक महिनाभित्र रिहाइ गर्ने बताउनुभएको थियो। तर ओलीले दिएको समयसीमामा रिहाइ नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीका नेताहरू संशकित बनेका छन्।

यस विषयमा पनि आजको भेटमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहान पनि राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि रिक्त रहेको मन्त्रालयको विषयमा छलफल भएको थियो। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सत्ता साझेदार दलले कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन्।

ओली र प्रचण्डबीच विश्वासको मतपछि खटपट सुरुवात भएको देखिए पनि भित्री रूपमा मन्त्रीको भागबन्डा कारक देखिन्छ। माओवादीले प्रधानमन्त्रीसहित गृहमन्त्री आफूले राख्न चाहेको थियो। तर, ओलीको बलमा रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नुभयो।

ओलीमाथि थप दबाब बढाउन पनि प्रचण्डले लामिछानेलाई गृहमन्त्री बनाउनुभएको छैन्। जसका कारण रास्वपा सरकारबाट बाहिरिएको छ। यो गठबन्धनमा ओली, लामिछाने र लिङदेन एकातिर हुनुहुन्छ भने प्रचण्ड, उपेन्द्र यादव अर्कातिर हुनुहुन्छ । तापनि ओली संयमित देखिनुहुन्छ। उहाँले कडा टिकाटिप्पणी त परै जाओस प्रधानमन्त्री प्रचण्डको विषयमा कुनै टिप्पणी गर्नुभएको छैन्।

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत पाएपछि कांग्रेसतिर ढल्किरहनुभएको देखिन्छ। यो प्रत्यन्त कांग्रेसले गरिरहेको देखिन्छ। उसले प्रदेशमा पनि माओवादीका मुख्यमन्त्री, सभामुखलाई मत दिएको छ।

राष्ट्रियसभा उपाध्यक्षमा पनि माओवादी उम्मेदवार उर्मिला अर्याललाई निर्विरोध जिताएको छ। कांग्रेस माओवादीलाई फकाएर पुरानो गठबन्धन पुनः बित्याउन चाहन्छ। कांग्रेस र माओवादी सम्बन्ध कतातिर जाने भन्ने विषयको निर्कोल राष्ट्रपति निर्वाचन गर्ने देखिन्छ।

यस्तै, बालकोटमा पुष १० मा प्रचण्ड प्रधानमन्त्री हुने र राष्ट्रपति एमालेले लिने मुख्य सहमित भएको दुवै पार्टीका नेता स्वीकार गर्छन्। सभामुख आधा–आधा कार्यकाल लिने सहमति भएको थियो। जस अनुरूप एमालेबाट देवराज घिमिरे सभामुख हुनुभएको छ ।

प्रधानमन्त्री र सभामुखमा सम्झौताअनुसार परिणाम पनि आइसकेका छन्। तर, अब राष्ट्रपतिका विषयमा भएको सम्झौता के हुन्छ भन्ने चर्चाको विषय बनेको छ।

Back to top button