विराटनगरको विकासमा सहयोग गर्न एनआरएनएलाई मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न अमेरिकामा बसोबास गर्ने विराटनगरवासी गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गर्नुभएको छ ।

आज बिहान जुम मिटिङलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको विकासमा विराटनगरमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका एनआरएनहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

‘विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा हामी लागेका छौं’, मेयर कोइरालाले भन्नुभयो, ‘यो अभियानमा त्यहाँ बसेर पनि तपाईंहरूले सहयोग गर्न सक्नुहुन्छ । तपाईंहरूले अभियान नै सञ्चालन गरिदिएर सहयोग गर्नुपर्‍यो ।’

औद्योगिक र राजनैतिक इतिहास बोकेको विराटनगर पछिल्लो समय पछि परेको बताउँदै मेयर कोइरालाले अब विराटनगरलाई यथास्थितिमा राख्न नदिने बताउनुभयो ।

उहाँले अमेरिकामा बसोबासका क्रममा प्राप्त गरेको ज्ञान, अनुभव र सीपलाई विराटनगरको विकासमा प्रयोग गरिदिन समेत आग्रह गर्नुभयो । इजरायलको विकासको उदाहरण दिँदै मेयर कोइरालाले भन्नुभयो, ‘अहिले इजरायलले जुन विकास गरेको छ, त्यसमा विदेशमा बसोबास गर्ने इजरायलीहरूको योगदान ठूलो छ ।’

बैठकमा सहभागी एनआरएनएहरूले विराटनगरको शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको अमेरिकामा कार्यक्रमको संयोजन गर्ने सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

आफूले प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विराटनगरको विकासमा प्रयोग गर्न तयार रहेको बैठकमा सहभागीहरूले बताउनुभएको थियो ।

Back to top button