‘राष्ट्रपतिमा तलमाथि हुने कुरै छैन’: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडान दोहोर्‍याउनुभएको छ ।

आज बिहान बालकोट पुग्नुभएका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा ओलीले पूर्वसहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्नुभएको हो ।

पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पाउनुपर्ने ओलीको अडान छ । ओलीले प्रचण्डसँग गरेको कुराकानीलाई उदृत गर्दै एमालेका एक नेताले भने,‘तपाईँलाई प्रधानमन्त्री बनाउने सहमति भएको बेला नै राष्ट्रपतिको विषय टुंगिसकेको छ। अब फेरि त्यो विषयमा छलफल गर्नुपर्दैन। एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्छ।’

जवाफमा अध्यक्ष प्रचण्डले सकेसम्म कांग्रेसको समेत सहमति लिएर राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको थियो। कांग्रेसले समेत राष्ट्रपतिमा दावी गरेकाले राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने धारणा राख्नुभएको छ ।

राष्ट्रपतिको विषयमा साझा धारणा बनाउन सत्ता साझेदार दलको उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल गरेर अगाडि बढ्नुको विकल्प नभएको प्रचण्डले जनाउनुभएको छ । उहाँहरुबीच उच्चस्तरीय संयन्त्रको बैठक चाडै बोलाउने सहमति भएको छ।

प्रधानमन्त्री प्रचण्डले ओलीसँगको भेटमा गृह मन्त्रालयमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभयो। उपप्रधान तथा गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा समेत उहाँहरुबीच छलफल भएको छ। मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति निर्वाचन लगायत समसामयिक विषयका बारेमा उहाँहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

यस्तै, हिजो पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा सघन छलफल भएको थियो। पछिल्लो समय उहाँहरुबीचको छलफल र भेटघाट बाक्लिएको छ।

Back to top button